शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मोरङ क्षेत्र नम्बर ३ : भानुभक्तलाई सुनिल शर्मा कति भारी ?

मङ्गलबार, ०७ भदौ २०७९, ०७ : ०८
मङ्गलबार, ०७ भदौ २०७९

प्रतिनिधिसभा अन्तर्गत मोरङ क्षेत्र नम्बर ३ उल्लेख्य वामपन्थी जनमत भएको क्षेत्र हो । यो क्षेत्र प्रायः वामपन्थीले जितेका छन् । तर, यसो भन्दै गर्दा कांग्रेसको जनमत पनि उक्त क्षेत्रमा बलियो बनिरहेको छ ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा यहाँबाट माओवादी केन्द्रका नेता सावित्रीकुमार काफ्ले विजयी भएका थिए । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने यहाँबाट कांग्रेसका दिलिप गच्छदार विजयी भए । ०७४ सालमा फेरि वाम गठबन्धनबाट एमालेका भानुभक्त ढकाल निर्वाचित भए ।

त्यसअघिका निर्वाचनमा भने अहिलेको यो क्षेत्र ५, ३, ४ नम्बर क्षेत्रमा विभाजन गरिएको थियो । धेरैले हालको मोरङ क्षेत्र नम्बर ३ निर्धारण गर्दा वामपन्थी जनमतलाई केन्द्रित गर्ने गरी निर्धारण गरिएको पनि बताउने गरेका छन् । अहिले सो क्षेत्रमा कांग्रेस कमजोर भने देखिँदैन ।

ढकाल र शर्माको उस्तै पकड

२०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसको भन्दा वामपन्थीको मत दोब्बर थियो । त्यही सालको संघीय निर्वाचनमा भने फेरि कांग्रेसबाट चुनाव लडेका नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले झण्डै-झण्डै बाजी मारे । स्थानीय तहको दोब्बर मत अन्तरलाई १९ सय मत अन्तरमा घटाउन शर्मा सफल भए । यस्तै सो क्षेत्रकै दुई प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये एउटामा कांग्रेसका सूयर्माराज राई विजयी बने । २०७४ सालको निर्वाचनमा कांग्रेसबाट प्रतिनिधिसभातर्फ सुनिल शर्मा उम्मेदवार थिए । उनले नोबेल मेडिकल कलेजको माध्यमबाट थुप्रै स्वास्थ्य शिविर सञ्चालन गरेर भोट आफूतिर तान्ने रणनीति बनाएका थिए । धेरै हदसम्म उक्त योजना कामयाब पनि बन्यो ।

आउँदै गरेको निर्वाचनमा पनि उनै शर्मा कांग्रेसका दाबेदार हुन् । पार्टी सभापति शेरबहादुर देउवाले सो क्षेत्र सत्ता गठबन्धनको अर्को कुनै दललाई दिएको खण्डमा बाहेक सुनिल शर्मालाई उम्मेदवार बन्नबाट रोक्ने आधार देखिँदैन । किनकि अहिले सो क्षेत्रमा सुनिलबाहेक अर्को उम्मेदवार बनाउँदा एमालेलाई जित्न नसकिने आकलन कांग्रेस नेताहरुकै छ ।

शर्माले सो क्षेत्रबाट चुनाव जित्नकै लागि विगत ५ वर्षदेखि नोबेल मेडिकल कलेजको जनशक्ति प्रयोग गर्दै सयौं स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । आफ्नो क्षेत्रका प्रायः वडामा निःशुल्क एम्बुलेन्स दान गरेका छन् । उनले कतिपय अशक्त बिरामीहरुको नोबेलमा निःशुल्क उपचार पनि गरेका छन् भने भजन कीर्तन मण्डली, मठ मन्दिरमा पनि मनग्य लगानी गरिरहेका छन् ।

शर्माले मोरङ क्षेत्र नम्बर ३ का बिरामीहरुलाई लक्षित गर्दै नोबेल अस्पतालमा अघोषित हेल्प डेस्क नै बनाएर काम गरिरहेका छन् ।

यता, कांग्रेसबाट संस्थापन पक्षले नेता गोपाल थापालाई अगाडि सार्न खोजिरहेको छ । तर, थापा आफैले त्यसबारे सोच नबनाएको बताउँछन् । ‘मैले अहिले त्यस्तो सोच बनाएको छैन, चुनाव जित्नु पनि पर्छ, उठेर मात्रै हुँदैन, जित्ने गरी हामीले निर्णय गर्छौं,’ थापाले भने ।

यता, एमाले अध्यक्ष केपी शर्मा ओलीका अत्यन्तै निकट रहेका भानुभक्त ढकाल अघिल्लो निर्वाचनको समयमा अलोकप्रिय थिए । आफ्नो गृहजिल्ला तेह्रथुममा जित्न नसकेर मोरङ ३ रोजेको र उनी टुरिस्ट उम्मेदवार भएको व्यापक हल्ला यस क्षेत्रमा चलेको थियो । तर, अहिले ढकालले निकटस्थहरुलाई भन्ने गरेका छन्, ‘यसअघि पार्टी नेतृत्व मेरो पक्षमा भए पनि कार्यकर्ता सबै सन्तुष्ट थिएनन्, तर यस पटक नेतृत्व पनि मेरो पक्षमा छ र कार्यकर्ता पनि मेरो विकल्प खोज्ने अवस्था देख्दिनँ ।’

ढकालले भनेको सत्य पनि हो । उनले त्यसबेला उठाएका सुकुम्वासीका समस्या ज्यूँका त्यूँ छ । उनले गरेका धेरै प्रतिबद्धताहरू अहिले पनि पूरा हुन बाँकी छ । तर, संगठनात्मक हिसाबले ढकालले सो क्षेत्रमा एमालेभित्र आफ्नो पकड दह्रो बनाएका छन् । जनताका गुनासा सुन्ने र फिल्डमा उनी मनग्य खटेका पनि छन् ।

कतिपयले ढकालको विकल्पमा एमालेका स्थायी समिति सदस्य गुरु बराललाई अगाडि ल्याउने कोसिस भइरहेको पनि बताएका छन् । तर, बरालले अहिलेसम्म उक्त कुरा खुलेर बताउन चाहेका छैनन् ।

‘म स्थायी समिति सदस्य हुँ, उम्मेदवार बन्ने या नबन्ने पार्टीका आन्तरिक बैठकहरूमा छलफल हुन्छ, बाहिर प्रचार गर्दै हिँड्न मलाई नैतिक हिसावले दिँदैन,’ बराल भन्छन्, ‘तलका कार्यकर्ताले के भन्छन् भन्ने भन्दा पनि पार्टीको बैठकले कसलाई उम्मेदवार बनाउने भन्छ, त्यही अनुसार हुन्छ ।’

यद्यपि विराटनगरका स्थायी बासिन्दा बराल सो क्षेत्रमा २०७० सालको दोस्रो संविधानसभामा पनि प्रतिस्पर्धामा उत्रिएका थिए । तर, उनी कांग्रेसका उम्मेदवार दिलिप गच्छदारसँग पराजित भए ।

यता, एमाले नेता ढकालले पनि आफू पार्टी बैठकमा आफ्ना कुरा राख्ने बताउँछन् । ‘चुनावमा त्यही क्षेत्र रोज्ने कि अन्त जाने भन्ने विषयमा पार्टीकै बैठकमा कुरा राख्छु,’ उनी भन्छन्, ‘अहिले धेरै कुरा किन गर्नु, हामी भदौभित्रमा उम्मेदवार फाइनल गरिसक्छौँ ।’

यद्यपि ढकालले पार्टी नेता तथा कार्यकर्तासँग पुनः सोही क्षेत्रबाट उम्मेदवार बन्ने आशय व्यक्त गरिरहेका छन् ।

अन्तरविरोधले शर्मालाई समस्या हुनसक्ने

अघिल्लो निर्वाचनमा शर्मा कांग्रेसका उम्मेदवार थिए । तर, यो पटक शर्मा कांग्रेसको पनि शेखर कोइराला पक्षबाट उम्मेदवार बन्दैछन् । स्थानीय तह निर्वाचन २०७९ मा शर्माले टिकट वितरणमा गरेको हस्तक्षेपको कारण उनीसँग कांग्रेसकै कतिपय स्थानीय नेता असन्तुष्ट छन् ।

कोइराला–शर्मा पक्षले सुन्दरहरैंचाका तत्कालीन प्रमुख शिव ढकालको टिकट खोसेर भक्ति प्रसाद सिटौलालाई दिने प्रयास गरेका थिए । तर, ढकालले शेरबहादुर देउवासँग गएर सोझै आफ्ना नाममा टिकट ल्याएका थिए । यद्यपि एमालेसँग ढकाल पराजित बने । आफू पराजित हुनुमा शेखर–सुनिलकै हात रहेको भन्दै ढकालले आगामी निर्वाचनमा असहयोग गर्ने आकलन कांग्रेसीहरु नै गरिरहेका छन् ।

यस्तै कानेपोखरी गाउँपालिकामा पनि कोइराला पक्षले आफ्ना उम्मेदवारको रुपमा अघि सारेका सञ्जय भट्टराई पराजित भएका थिए । देउवा पक्षले भने गठबन्धन गरेर चुनाव लड्नुपर्ने बताउँदै आएको थियो । कोइराला पक्ष र विशेष गरी सो क्षेत्रमा सुनिल शर्माले नै देउवा पक्षको सल्लाह बिनै भट्टराईलाई उम्मेदवार बनाएका थिए । कानेपोखरीका देउवा पक्षको सो समूह शर्मालाई हराउन खुलेरै लाग्ने कतिपय बताउँछन् ।

यस्तै कोइराला पक्षका लागि मोरङमा गठबन्धन सकारात्मक हुने सम्भावना कम देखिन्छ । स्थानीय तह निर्वाचनमा गठबन्धन नगरेर पराजित हुनुपरेको रिस माओवादी, जसपा र नेकपा एकीकृत समाजवादीले नफेर्लान् भन्न सकिन्न । अहिले पनि कोइराला पक्षले गठबन्धन गर्न नहुने बताउँदै आएको छ । यस्तै अवस्था रहे शर्मालाई असहज हुने देखिन्छ ।

त्यसको तुलनामा ढकाल एमालेबाट सर्वसम्मत उम्मेदवार बन्ने, अघिल्लो पटक भन्दा स्थानीयस्तरमा भिजेको हुने हुनाले उनी प्रतिस्पर्धामा बलियो हुन सक्ने देखिन्छ ।

स्थानीय निर्वाचन २०७९ मा सो क्षेत्रमा पर्ने कानेपोखरी, बेलबारी, सुन्दरहरैंचाका बहुमत वडामा विजयी बनेको, तीनै पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी बनेको कारण एमाले र ढकालको मनोबल उच्च छ ।

माओवादी केन्द्रबाट भने सो क्षेत्रबाट संविधानसभा सदस्य सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य गीता तिम्सिना, नेताहरू लालबहादुर सुस्लिङ मगर, खेम भट्टराई, तिलक राई र विनिता घिमिरेलगायतको चर्चा छ । यद्यपि माओवादी केन्द्रका नेताहरुले आफ्नो पार्टीले एउटा मात्र प्रदेशसभा सिट पाउने भएकोले धेरै आकांक्षीले चुनाव लडिहाल्ने मनस्थिति नबनाएको बताइएको छ ।

स्थानीय निर्वाचन २०७९ को परिणाम

स्थानीय निर्वाचनमा भने एमाले मोरङ क्षेत्र नम्बर ३ मा रहेका २६ वटा वडा मध्ये १४ वटामा विजयी भएको छ । एमालेले सुन्दरहरैंचा नगरपालिकाको ६ वडामध्ये ४, पथरी शनिश्चरे नगरपालिकाको ८ वडा मध्ये ५, कानेपोखरीको ४ मध्ये ३ र बेलबारी नगरपालिकाको ८ वडा मध्ये २ वडा जितेको छ ।

यस्तै नेपाली कांग्रेसले सुन्दरहरैंचामा २, पथरी शनिश्चरेमा ३, कानेपोखरीमा १ र बेलबारीमा ५ वडा गरी जम्मा ११ वडा जितेको छ । बेलबारीको एउटा वडामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

सो क्षेत्रमा स्थानीय तहमा आएको वडाअध्यक्षको मत अनुसार गठबन्धन दललाई यसपटक केही सहज हुने देखिन्छ भने त्यसको तुलनामा एमालेलाई जित निकाल्न सकस पर्ने देखिन्छ । सो क्षेत्रमा गठबन्धन दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा मिल्दा ४६ हजार ६०७ मत पुग्छ । एमालेको भने ३७ हजार ४१० मत छ ।

एकल लड्दा कांग्रेसभन्दा केही सय मतले मात्रै एमाले अगाडि देखिन्छ । कांग्रेस एक्लैको मत सो क्षेत्रमा ३६ हजार ९१६ छ । माओवादी केन्द्रको ७ हजार ३३७ हुँदा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीको मत २ हजार क्रस गरेको छैन ।

हेर्नुहोस् तथ्यांकमा सो क्षेत्रको वडागत मत विवरण

२०७४ सालको निर्वाचन परिणाम

मोरङ क्षेत्र नम्बर ३ मा यसअघि वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका नेता भानुभक्त ढकाल ४२ हजार ४१३ मत ल्याएर विजयी बनेका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्माले ४० हजार ५०६ मत पाएका थिए ।

यस्तै सोही निर्वाचन क्षेत्रको प्रदेशसभा (क) मा कांग्रेसका सूयर्माराज राईले २० हजार २९९ मत ल्याउँदा वाम गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी नेतृ गीता तिम्सिना १९ हजार ३९९ मत ल्याएर दोस्रो बनेकी थिइन् ।

यस्तै सोही निर्वाचन क्षेत्रको प्रदेशसभा (ख) मा भने वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका राजकुमार ओझाले २२ हजार ८२० मत ल्याएर विजयी बने । उनलाई कांग्रेसका ललित श्रेष्ठले २० हजार २८७ मतका साथ कडा टक्कर दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप